राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

Yangle News
Yangle News
२०७९ पुस १४ गते
राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिएका छन् । राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन आएको प्रवक्ता काफ्लेले बताए ।

राजस्व चुहावट नियन्त्रणका लागि राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन पनि मन्त्री पौडेलले दिएका छन् ।

त्यस्तै, समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासन सक्रिय भएर लाग्ने बताए । कर्मचारीलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै लामिछानेले अवैध व्यापारिक गतिविधि रोक्न दृढताका साथ काम गर्न पनि सबै सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, गृहसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक राजस्व विभागमा महानिर्देशक लगायतको उपस्थिति थियो । रासस

433 views