पदभार ग्रहण गरेपछि कुन मन्त्रीले के निर्णय गरे ?

Yangle News
Yangle News
२०८२ भदौ ३० गते
पदभार ग्रहण गरेपछि कुन मन्त्रीले के निर्णय गरे ?

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेकी छन् । जेनजी समूहको सिफारिसबाट प्रधानमन्त्री बनेकी कार्कीले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेरका साथै वरियताक्रम पनि तोकिएको छ ।

मन्त्रिमण्डलको वरियताक्रममा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । ऊर्जामन्त्री कुलमान घिसिङ तेस्रो बरियतामा छन् । उनलाई ऊर्जासँगै जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल तेस्रो वरियताक्रमा छन् । उनलाई कानुन तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका छन् । शपथलगत्तै उनीहरू सिंहदरबार गएर पदभार सम्हालेका हुन् ।

नवनियुक्त अर्थमन्त्री खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने तयारी गरेका छन् । उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् । ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो,’ उनले भनेका छन् । मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।

ऊर्जा तथा जलस्रोत मन्त्री घिसिङले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको बताउँदै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि उनी जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी जिम्मेवारी सम्हालेका थिए ।

उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए । ‘नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ,यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ,’उनले भने,’डेडिकेटेड र ट्रंलाइनको वक्यौता उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ,’यो तत्काल गर्नुपर्ने काम हो ।’ मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे । मन्त्री पदमा रहँदा आफूले पाउने सबै पारिश्रमिक कोषमा दाखिला गर्ने उनको भनाइ छ । उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, गृहमन्त्री अर्यालले शोक दिवस मनाउने, राष्ट्रिय झन्डा आधा झुकाउने, आन्दोलनमा मृत्यु भएकाको काजकिरियाका लागि एक लाख दिने र राष्ट्रिय झन्डा झुकाउने निर्णय उनले गरेका छन् । आन्दोलनमा ज्यान गुमाएकाको शवको व्यवस्थापनका लागि निशुल्क सवारी साधन तथा दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने पदभार ग्रहणसँगै उनले निर्णय गरेका छन् ।