निर्वाचन कार्यतालिका सार्वजनिक

Yangle News
Yangle News
२०८२ कार्तिक ३० गते
निर्वाचन कार्यतालिका सार्वजनिक

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अुनसार ६ माघमा प्रत्यक्ष चुनावतर्फको उम्मेदवारी दर्ता तय गरिएको छ ।

उम्मेदवारी मनोनयन दर्ता गर्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने छ । आयोगले सोही दिन उम्मेदवारीको सूची प्रकाशित गर्ने पनि कार्यतालिका रहेको छ ।

५ माघमा उम्मेदवारी दर्ताको दुई दिनपछि ७ माघको बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्न सकिने छ भने भोलिपल्ट ८ माघको साँझ ५ बजे मनोयन पत्र र उजुरीउपर जाँचबुझ र निर्णय गरिनेछ । आयोगका अनुसार ९ माघमा दिउँसो १ सम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइनेछ । र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । यसैगरी आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने २० मंसिरबाट सुरु हुनेछ ।

२१ मंसिर बिहान १० बजेदेखि २३ मंसिरको दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न सक्नेछन् । अनि, २४ मंसिरको निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशित हुनेछ ।

आयोगका अनुसार १३ र १४ पुसमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र २० माघमा उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित हुनेछ ।