एसियन कप छनोट : नेपालको ‘हार श्रृंखला’ कायमै

Yangle News
Yangle News
२०८२ मंसिर ३ गते
एसियन कप छनोट : नेपालको ‘हार श्रृंखला’ कायमै

एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगिताको तेस्रो चरणअन्तर्गत आफ्नो पाँचौं खेलमा पनि पराजय ब्यहोरेको छ । मंगलबार साँझ भएको खेलमा मलेसियासँग १-० ले नेपाल पराजित भएको हो ।

क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रंगशालामा घरेलु टोलीलाई जित दिलाउन वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका फरवार्ड फाजल हलिमले निर्णायक गोल गरे । उनले टोलीका लागि खेलको ५६औं मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयमा रक्षक पाओलो हस्वे पेनाल्टीमा चुक्दा मलेसियाले १-० को नतिजामा चित्त बुझायो । रक्षक हारिथ हाइकाललाई नेपालका मिडफिल्डर लाकेन लिम्बुले फउल गरेपछि मलेसियाले पेनाल्टी पाएको थियो ।

पछिल्ला चार अन्तर्राष्ट्रिय खेलमा लाकेनले दोस्रो रातो कार्ड सामना गरेका हुन् । यसअघि म्यानमार विरुद्धको पहिलो लेगमा उनले रातो कार्ड खाएका थिए ।

जितसँगै मलेसिया अर्को वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपको नजिक पुगेको छ । छनोट प्रतियोगितामा मलेसियाको यो लगातार पाँचौं जित हो । छैटौं तथा अन्तिम खेलमा भियतनामविरुद्ध हार टारे मलेसियाले एसियन कपमा स्थान पक्का गर्नेछ ।

समूह ‘एफ’मा नेपालको यो लगातार पाँचौं हार हो । यसअघि नेपालले भियतनाम विरुद्धको दुवै लेगमा पराजय बेहोर्दा मलेसिया र लाओससँगको पहिलो लेगमा पनि हार बेहोरेको थियो । पहिलो लेगमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो ।

नेपालले अब छनोट प्रतियोगिताको अन्तिम खेलमा लाओसको सामना गर्नेछ । यो खेल मार्च ३१ मा हुनेछ । पहिलो लेगमा लाओसले नेपालमाथि २-१ को ऐतिहासिक पहिलो जित हासिल गरेको थियो ।

Yangle News