स्ट्रेट अफ होर्मुजमा फेरि तनाव, व्यापारिक जहाजमाथि गोलाबारी

Yangle News
Yangle News
२०८३ बैशाख ५ गते
स्ट्रेट अफ होर्मुजमा फेरि तनाव, व्यापारिक जहाजमाथि गोलाबारी

पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।

संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालनका अनुसार ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा रहेको हर्मुज जलसन्धिमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सका दुई वटा लडाकू डुंगा (गनबोट)ले एउटा तेल ट्यांकरमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन् । उक्त आक्रमणमा ट्यांकर र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइए पनि क्षेत्रमा ठुलो त्रास फैलिएको छ ।

यसैबीच, शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि गोलीबारी भएको घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार इरानको रिभोल्युसनरी गार्डका दुई गनबोट ती ट्यांकरनजिक पुगेका थिए र कुनै रेडियो चेतावनीबिना नै फायरिङ सुरु गरेका थिए ।

गोलीबारी भएपछि दुवै भारतीय जहाज होर्मुज पार नगरी फर्किएका छन् । ती जहाज र त्यसमा रहेका सबै चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ । घटनामा संलग्न एक जहाजले करिब २० लाख ब्यारेल इराकी तेल बोकेको बताइएको छ ।

घटनापछि भारत सरकारले कडा प्रतिक्रिया जनाएको छ । भारतको परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित इरानका राजदूत डा. मोहम्मद फथअलीलाई बोलाएर औपचारिक विरोध जनाएको छ । भारतले अन्तर्राष्ट्रिय जलमार्गमा यस प्रकारको आक्रमण अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।

यसैबिच अमेरिकी सेन्ट्रल कमाण्डले गत अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई कडाइका साथ लागु गरिरहेको जनाएको छ । नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले हालसम्म २३ वटा व्यापारिक जहाजहरूलाई होर्मुज जलसन्धि नजिकैबाट बलपूर्वक फिर्ता गराएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउन यो कदम चालेको दाबी गरेको छ ।

अमेरिकी नाकाबन्दीको जवाफमा इरानले उक्त जलसन्धि पुनः बन्द गर्ने घोषणा गरेको छ । इरानी नौसेनाले रेडियो सन्देशमार्फत सो क्षेत्रमा रहेका सबै ट्यांकर र व्यापारिक जहाजहरूलाई अब कुनै पनि जहाजलाई जलसन्धि पार गर्न अनुमति नदिइने जानकारी गराएको छ ।

यसअघि शुक्रबार मात्रै इरानले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि होर्मुज पूर्ण रूपमा खुला रहने बताएको थियो ।