संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूका कागजात झिकाउने निर्णय भएको जानकारी दिए ।
९ वटा सहकारी संस्थाहरूको पछिल्लो साधारणसभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थितिसमेत खुल्ने कागजात पेश गर्न भनिएकव छ ।
समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बास्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको थियो ।