दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

Yangle News
Yangle News
२०८३ बैशाख ३ गते
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाह उत्सवमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । पछिल्लो समय प्राप्त भइरहेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’को प्रतिबद्धता नदेखिएको भन्दै उनले दाइजो लेनदेन हुने कुनै पनि विवाह उत्सवमा आफू सहभागी नहुने घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अझै पनि समाजमा गम्भीर समस्याका रूपमा जड गाडेर बसेकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘दाइजो लिनु र दिनु मात्र होइन, यस्तो लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु र त्यस्ता भोजभतेरमा सहभागी हुनु पनि सामाजिक तथा कानुनी रूपमा दण्डनीय छ,’ उनले उल्लेख गरेकी छन् ।

उपसभामुख ठाकुरले समाज परिवर्तन र देश विकासका लागि कुरीतिविरुद्धको लडाइँ व्यक्तिगत स्तरबाटै शुरू हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनेकी छन्, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ । त्यसैले दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु ।’

उनले अब उप्रान्त विवाहका निमन्त्रणापत्र छाप्दा त्यसमा स्पष्ट रूपमा ‘दहेज मुक्त विवाह’ वा ‘दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्नेजस्ता सचेतनामूलक सन्देश समावेश गर्न समेत सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्दै दाइजोमुक्त समाज निर्माणका लागि ठोस पाइला चाल्न उनले सबैलाई आह्वान गरेकी छन् ।