नेकपा एमालेले विधान महाधिवेशन त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर २३ पन्ने अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानिमा भदौ २३ र २४ को जेनजी आन्दोलन त्यसले निम्त्याएको विध्वंस र पार्टीका आसन्न ११औं महाधिवेशनमा बारेमा विश्लेषण गरिएको छ ।
अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि कामचलाउ प्रधानमन्त्रीका रुपमा संसद बैठकबाट संविधान संशोधन गरेर राजनीतिक समस्याको निकास निकाल्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख छ । ‘प्रतिनिधिसभाको विघटनले मुलुकलाई जनप्रतिनिधि निकायविहीन अवस्थामा पुर्याएको छ । र राजनीतिक रिक्तता सिर्जना गरेको छ,’ अपानिमा भनिएको छ, ‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिलाई उत्साहित तुल्याएको छ ।’
एमालेले अलोकतान्त्रिक र असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनस्थापनाको माग गरेको छ । एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन भएको गौरी बहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ । अपानिमा जनाइए अनुसार यति ठूलो घटनाको छानबिनको जिम्मा राजनीति दल नेता लोकतान्त्रिक प्रक्रियाप्रति दुराशययुक्त भावना राख्ने व्यक्ति चयन भएकोले यो आयोगलाई एमालेले पूर्ण अस्विकार गर्ने जनाइएको छ ।
पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न पनि माग गरेको छ । ‘अहिलेको आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्न खोजेको तर २४ गते तोडफोड, आगजनी, विध्वंश मच्चाउने र राष्ट्रविरोधी जघन्य कसुर गर्नेलाई प्रहरीले सप्रमाण गिरफ्तार गरेका व्यक्तिहरुलाई छाड्न सघाउने काम गरिरहेको छ’ अपानिमा भनिएको छ, ‘यस्ता व्यक्तिको नेतृत्वमा गठित आयोगले स्वतन्त्र छानबिन गर्न सक्दैन । यस्तो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न सकिंदैन ।’
अपानिमा असोज २९-३१ गते भएको केन्द्रीय कमिटी बैठकले पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितीका कारण सचिवालयको बैठकले काठमाडौं सारेको उल्लेख गरिएको छ । अपानिमा महाविधेशनको उद्घाटन सत्रमा व्यापक रुपमा जनपरिचालन गर्ने योजनासहित महाधिवेशन काठमाडौंमै गर्न लागिएको जनाइएको छ । अपानिमा महाधिवेशन प्रतिनिधि कुन क्षेत्रबाट कसरी छनोट गर्ने ? त्यसका आधारहरु के-के हुन् ? पार्टी सदस्य संख्यालाई के कसरी हिसाब गरेर प्रतिनिधि यकिन गर्ने सविस्तार व्याख्या गरिएको छ ।
अपानि :