काम गर्न नसके प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग

Yangle News
Yangle News
२०८२ मंसिर ४ गते
काम गर्न नसके प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग

विभिन्न २३ वटा जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र बुझाएका छन् ।

आज राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै ती समूहले प्रधानमन्त्री कार्कीले प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही लगायतका काम गर्न नसकेको आरोप लगाएका छन् । उनीहरुले सुशासनको क्षेत्रमा काम नगरी चुनावकेन्द्रित अभियानमा लागेको भन्दै गुनासो पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै ती जेनजी समूहले दिशाहीन बनेको सरकारले आफ्ना माग पूरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउनसमेत माग गरेका छन् । ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो । जेनजीका मागहरूलाई सम्बोधन नगरिए सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न निवेदन गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी पनि जेनजी समूहहरुले दिएका छन् । ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कारवाही, जेन्जी घाइतेहरुको उपचार र जेनजीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।

यद्यपि, ज्ञापनपत्र बुझाउनेहरूमा अहिले राजनीतिक वृत्तमा सक्रिय नेपाल जेनजी फ्रन्ट, जेनजी अलाइन्सजस्ता ठूला समूह भने देखिएका छैनन् । प्रधानमन्त्री कार्कीको विकल्प माग गर्नेमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसियसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जीयुपीसी ग्रुप, जेवाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी अलायन्स, नेपाल जेनजी रिभ्युलेसन, इक्विटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल रहेका छन् ।

ज्ञापनपत्र :

Yangle News