बडादशैंअन्तर्गत नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता दुर्गाको पाँचौं स्वरूप हुन् ।
स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता रहेको हो । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्द (कुमार) रहेका छन् ।
यिनको यो स्वरूपलाई कल्याणकारी वा मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ ।
नवरात्रमा प्रत्येक दिन एक-एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन् ।
पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ । तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व रहेको बताइएको छ ।
दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।