मनसुनको पहिलो महिना सरदरभन्दा कम वर्षा

Yangle News
Yangle News
२०८२ असार २८ गते
मनसुनको पहिलो महिना सरदरभन्दा कम वर्षा

मनसुनको शुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले जुन १ देखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो । तर, यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो शुरु भएको थियो ।

विभागका मुलुकभर ५ सयभन्दा बढी वर्षा मापन केन्द्र छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रमध्ये तथ्यांकहरुका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदरभन्दा कम बर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३ सय ९१ दशमलब ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४ सय ६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो ।

मनसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भए पनि वर्षा मापन केन्द्रको तथ्यांकहरुका आधारमा यो अवधिमा सरदरभन्दा कम वर्षा भएको भन्न सकिने विभागले जनाएको छ । सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भए पनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो ।

विभागले दैनिक अनुगमन गरेका बर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको बर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलब ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २ सय ११ दशमलब २ मिलिमिटर बर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर बर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १ सय ५२ प्रतिशत थियो ।

त्यसैगरी जनकपुर विमानस्थलको तथ्यांकअनुसार जुन १ देखि जुलाई ११ सम्म १ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो बर्ष यही अवधिमा सो स्थानमा ५ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । त्यसैगरी सिमरा विमानस्थलको बर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्यांकअनुसार, जुन १ देखि जुलाई ११ सम्म २ सय ६१ दशमलव १ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४ सय २६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच, मधेस प्रदेश सरकारले असार २६ गते मन्त्रीपरिषद् बैठकबाट मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा बर्षा नहुँदा धान रोपाईं हुन नसकिरहेको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न संघीय सरकारसँग माग पनि गरेको छ ।