धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोध अन्त्यका लागि ६ बुँदे सम्झौता भएको छ । नियमित वृत्ति विकासको माग गर्दै शिक्षक र कर्मचारीहरू आन्दोलनरत थिए भने रोकिएको पठनपाठन सुचारु हुनुपर्ने माग राखी विद्यार्थीहरू पनि रिले अनसनमा थिए । आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनबिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो ।
जसअनुसार अनुसार यसअघि प्रतिष्ठानमा रिक्त रहेको पदका लागि सुरु भई स्थगित रहेको अन्तर्वार्ता फाल्गुन ६ गतेबाट सुरु गरी तालिका बमोजिम सम्पन्न गर्ने र सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने सहमति भएको छ ।
त्यस्तै भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीप्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने र नगराउने भनिएको छ । वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमतिमा उल्लेख छ ।
शिक्षक तथा कर्मचारीको जारी भद्र अवज्ञा आजबाट स्थगित गरि नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ । त्यस्तै विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरी नियमित पठनपाठनमा सहभागी हुने पनि सहमति भएको छ ।