मतदातासँगको भेटघाटपछि म कमजोर उम्मेदवार होइन भन्ने लागेको छ : सरिता थापा खड्का

Yangle News
Yangle News
२०७९ कार्तिक १८ गते
मतदातासँगको भेटघाटपछि म कमजोर उम्मेदवार होइन भन्ने लागेको छ : सरिता थापा खड्का

सरिता थापा खड्का पाँचदलीय गठबन्धनबाट संखुवासभा प्रदेशसभा ‘ख’की प्रत्यक्ष उम्मेदवार हुन्। १७ वर्ष शिक्षण पेशामा आबद्ध रहेर राजनीतिमा होमिएकी उनी पूर्वसंविधानसभा सभासद स्वर्गीय डम्बर खड्काकी धर्मपत्नी हुन्। उनी बितेको पाँच वर्षमा प्रदेश-१ मा समानुपातिक सांसद पनि थिइन्। शालिन व्यक्तित्वकी धनी खड्काका चुनावी एजेन्डा के छन्? आफ्नो क्षेत्र र समग्र संखुवासभाको विकासका लागि कस्ता मार्गचित्र कोरेकी छन्? यिनै विषयमा केन्द्रित रहेर उनीसँग गरेको संवाद :

संखुवासभा प्रदेश ‘ख’तर्फका मतदाताले किन तपाईंलाई नै मतदान गर्ने?

एकीकृत समाजवादी पार्टी सानो भए पनि समयसँगै एजेन्डाले परिपक्व बनाउँदैछ। सानो पार्टीलाई भोट किन दिने भन्ने कुरामा सानो र ठूलो पार्टी मिलेर नै गठबन्धन गरेका छौं। पार्टी ठूलो र सानोभन्दा मुख्य एजेन्डा हो। संखुवासभावासीले मलाई नै भोट किन हाल्ने भन्ने विषयमा म विगत एक कार्यकाल समानुपातिकमा तत्कालीन एमालेबाट सिफारिस भएर प्रदेशसभामा प्रतिनिधित्व गरेको व्यक्ति हुँ। आम संखुवासभाली जनताले मात्रै नभएर समानुपातिकमा प्रदेशभरीको मतबाट विजयी भएकी हुँ। जिम्मेवारी प्राप्त गरी वहन पनि गरिसकेकी छु।

काम गर्ने क्रममा आफ्नै जिल्ला रोजें मैले त्यतिबेला। मैले प्रदेशसभामा विकास समितिको सभापतिको जिम्मेवारी पनि वहन गरें। उक्त समितिले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षाको विषयमा सम्बन्धित रहेर कानून निर्माण गरेका थियो। यी कुरामा राम्रो भूमिका वहन गर्न सकेकी थिएँ भन्ने लाग्छ।

जिल्लाको विकासका लागि के गर्नुभयो?

जिल्लाको विकासका लागि निरन्तर प्रयास गर्‍यौं। मुख्य कुरा कानून निर्माण थियो। अर्को सांसद भएको हिसाबले जनताको जनजीवीका र जिल्लाको विकासका लागि पनि कामहरू गर्‍यौं। पाँचवर्षे कार्यकालमा सरकारसँग आफ्नो योजना राखेर विकास निर्माणका कामहरू गरेका छौं।

त्यतिबेला संखुवासभाबाट ४ जना निर्वाचित भएर गयौं। समानुपातिकको दुईजना मध्येको एक म पनि हो। विकास निर्माणको कुरा गर्दा प्रत्यक्षभन्दा समानुपातिकलाई जिल्लाभरीकै विषय उठेर आउँथे। त्यो सवालमा शिक्षाको क्षेत्रमा काम गरेका छौं। धर्मदेवी नगरपालिकाको मुलगाउँको स्कुलमा योजना हालेका छौं। भगवती मावि खानेपानी, आईसीटीका योजनाहरू पठाएका छौं। मर्मतका कामहरू पनि भएका छन्।

धर्मदेवीमा शिक्षक दरबन्दीका विषय छन्। सिंहेश्वरी माविमा स्वयंसेवक शिक्षक व्यवस्था गरेका छौं, व्यक्तिगत पहलमा। रामेश्वर माविमा ठूला योजनामा भवन बनाउने, साइन्स ल्याब निर्माण गरेका छौं। प्राथमिक विद्यालयमा स्वच्छ खानेपानी, मर्मतका कामहरू थोरै विद्यालयबाहेक अन्य सबैमा विभिन्न कार्यक्रमहरू पुगेका छन्। ठूलो अपेक्षाकृत योजना नपुगे पनि प्रदेश सरकारका साना योजनाहरू आइपुगेकै छन्। अरू पूर्वाधारका कुरामा खानेपानी, सिँचाइ, लिफ्टिङ खानेपानीहरू सञ्चालन गरेका छौं। स्वास्थ्यमा प्रदेशले जिल्ला अस्पताललाई राम्रै ढंगले गुणस्तरीय बनाउने प्रयासमा छ।

तपाईंको आफ्नो परिचय दिनुहोस् न।

संखुवासभाको साविक सिद्धपोखरी गाविस वडा नम्बर ५ केराबारीमा जन्म भएको हो। बुवा वालकुमार थापा र आमा दुर्गादेवी थापा हुनु हुन्छ। बुवा शिक्षण पेशामा हुनु हुन्थ्यो। तीन कक्षासम्मको पढाइ सिद्धपोखरीको तत्कालीन सिंहेश्वरी प्राविमा गरें। त्यसपछि बुवा-आमा बसाइँ सरेर विराटनगर गएपछि कक्षा ४ देखि स्नातकसम्मको अध्ययन विराटनगरमै गरें। त्यसपछि वैवाहिक जीवनमा बाँधिने क्रममा संखुवासभा नै कर्मथलो बन्यो।

मेरो श्रीमान् स्वर्गीय डम्बर खड्काको पृष्ठभूमि राजनीतिक थियो। ०६४ सालमा उहाँ पहिलो संविधानसभा सभासद बन्नु भएको थियो। दुवैजना राजनीतिमा होमिँदा केही समस्या आइपर्ला भनेर म शिक्षण पेशातर्फ लागें। ०५८ सालदेखि शिक्षण पेशा शुरु गरें। माध्यमिक तहमा अर्थशास्त्र विषय पढाउँथे। जिल्लास्तरीय आयोगबाट अस्थायी दरबन्दीमा मनकामना माविबाट अध्यापन शुरु गरेकी थिएँ। ०६२ सालसम्म त्यहाँ काम गरे त्यसपछि ०७४ सालसम्म खाँदवारीस्थित हिमालय माविमा काम गरें।

अस्थायी नियुक्तिमा अर्थशास्त्रबाट पढाउन शुरु गरेकी थिएँ। मुख्य विषय गणित र अर्थशास्त्र भएकाले ०६९ सालको आयोगमा गणितबाट दिएँ। ०६९ सालको आयोगबाट स्थायीमा गणित शिक्षकको रूपमा नियुक्त भएर काम गरें। शिक्षण पेशा गरिरहँदा शिक्षक संगठनमा आवद्ध रहेर काम गरें। खाँदवारी नगरपालिकाको शिक्षा संगठनको जिम्मेवारी पनि सम्हालें। जिल्ला सदस्य, एक कार्यकाल उपाध्यक्ष पनि भएँ। अर्काे कार्यकाल केन्द्रीय सदस्य बनें। त्यसरी नै जागिरबाट राजीनामा दिएर प्रदेशसभा सदस्य भएकी थिएँ। जन्मथलो र जिल्लामै बसेर लामो समय काम गरेको हिसाबले जिल्लाको भूगोलसँग नजिकबाट परिचित छु। खर्कदेखि बेंशीसम्मको अनुभव छ। ३० वर्ष यही जिल्लामा बिताएकी छु।

प्रदेश ‘ख’का लागि तपाईंका चुनावी एजेन्डा के छन्?

अघिल्लो पाँचवर्षे कार्यकालको अनुभवलाई हेर्दा यस जिल्लाको क्षेत्र नम्बर २ भौगोलिक बनावटले १ नम्बर क्षेत्रभन्दा अलि सुगम भन्ने पनि गरिन्छ। तुलनात्मक रूपमा उताको भन्दा निर्जन भूगोल कम नै छ। विकास निर्माण हुँदै नभएको पनि भन्न सकिन्नँ। संघीयता आउनुअघि र आइसकेपछिको विकासको तीव्रता हेर्दा संघीयताले नै विकासलाई व्यवस्थित गर्छ, जनतालाई सुख सुविधा दिन्छ, घर-घरसम्म सेवा सुविधा आएको छ भन्ने जनताले महशुस गरेका छन्।

पाँच वर्ष अगाडि निर्वाचनमा मत माग्न एक महिनापछि मात्र घर पुगेकी थिएँ। अहिले त्यो समस्या छैन। सबै भूगोलमा हिँडेरै भोट मागेका थियौं। अहिले सडक व्यवस्थित नभएको भए पनि ट्रयाक खोल्ने काम भने भएको छ। व्यक्तिगत के गर्‍यौं भनेर सोच्नेभन्दा पनि हामीले ल्याएको व्यवस्थाले नै यो सबै भएको हो भन्ने मलाई लाग्छ। मेरोभन्दा हामीले गरेको हौं। हाम्रो कार्यकालमा भएको भन्न सकिन्छ।

निर्वाचित भएपछि गर्नुपर्ने पहिलो काम के हो?

संखुवासभामा अब सबैभन्दा पहिला गर्नुपर्ने काम सडकहरूको स्तरोन्नति नै हो। ट्रयाक सबै ठाउँमा पुगिसकेका छन्। यी सडकलाई बाह्रै महिना चलाउन सकिने गरी व्यवस्थित गर्नु जरुरी छ। मुख्य बसन्तपुर-चैनपुर-बाह्रबिसे सडकलाई व्यवस्थित गर्न जरुरी छ। यो धेरै जनतासँग जोडिएको सडक हो। त्यसमा पर्ने हेवाँ खोलामा दोभानेको पुल बन्नुपर्नेछ। हामी निर्वाचित भएर गयौं भने पहिलो काम यही पुल बनाउने हुन्छ। हामीले पहल गर्ने कुरा हो। यसअघि निर्वाचित भएकाहरूबाट त्यो काम भएको देखिएन। हामीले पनि भनेको हो तर पहलकदमी र दबाब दिने काम भएन। पहल भए होला तर परिणाम देखिएन।

धर्मदेवीमा केवाँबेंशी बुधबारे मुढे हुँदै मंगलबारे र चौकी जोड्ने मुख्यमन्त्री ग्रामीण सडक परियोजना सञ्चालन भइरहेको छ। यसलाई निरन्तरता दिनुपर्छ। चैनपुर नगरपालिकाको हकमा आफैंमा समृद्ध पालिका छ यो। पर्यटकीय बजारको रूपमा विकास गर्न सकिन्छ, ऐतिहासिक पाटोलाई जोडेर। बसन्तपुर, मुढे, चैनपुर, तातोपानी हुँदै गुफापोखरी र तीनजुरे-मिल्के क्षेत्रलाई पर्यटकीय रिङरोडको रूपमा विकास गर्न सकिन्छ। नेपालको गुराँसको राजधानी भनेर चिनिने क्षेत्रदेखि लिएर धर्मदेवीमा पर्यटकीय क्षेत्रहरू धेरै छन्। यहाँको पर्यटन विकासले रोजगारीको सिर्जना, स्थानीय उत्पादन विक्री वितरण गर्न सहज हुनेछ।

विपक्षी उम्मेदवारभन्दा आफूलाई कति बलियो मान्नुहुन्छ?

म सँग पाँचवर्षे कार्यकालको अनुभव छ। पहिलाको अनुभवले गर्दा पहिलो दिनदेखि केही नअल्मलिई जनताको काममा लाग्न सक्छु। संखुवासभाको हकमा इतिहासमा महिलालाई एकपटक मात्र प्रत्यक्ष उम्मेदवार बनाइएको थियो। ०५१ सालमा कांग्रेसबाट तत्कालीन क्षेत्र नम्बर २ मा पीयुष दाहाल प्रत्यक्ष उम्मेदवार बन्नुभएको थियो। अहिले कांग्रेससहितको गठबन्धनले मलाई विश्वास गरेको। र, मैले काम गर्न सक्ने प्रशस्त आधारहरू छन्। म कमजोर उम्मेदवार भने होइन है भन्ने लाग्छ।