दुई अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

Yangle News
Yangle News
२०८२ कार्तिक २३ गते
दुई अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश र मलेसियाविरुद्ध हुने आगामी खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ ।

तीन दिनको प्रारम्भिक खुला छनोटपछि खड्काको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले १२ खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली तयार पारेका हुन् । घोषित २३ सदस्यीय टोलीको कप्तानी किरणकुमार लिम्बूले गर्नेछन् । टोलीमा अनन्त तामाङ, रोहित चन्द, अञ्जन विष्ट, मनिष डाँगी, सुमन श्रेष्ठ लगायतका अनुभवी खेलाडीले निरन्तरता पाएका छन् ।

सेन्ट्ल मिडफिल्डर दीपेश गुरुङ पहिलोपटक राष्ट्रिय टोलीमा छनोट हुँदा अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पुनरागमन जनाएका छन् । रक्षक विमल पाण्डे र अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु भने बाहिरिएका छन् ।

गत सेप्टेम्बरमा घरेलु मैदानमा सम्पन्न बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आदित्य राष्ट्रिय टोलीमा थिए । तर, त्यसपछि एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुबै लेगका लागि भने आदित्य निवर्तमान मुख्य प्रशिक्षक म्याथ्यु रसको अन्तिम टोलीमा अटाएका थिएनन् । उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका उदीयमान मिडफिल्डर दीपेशले गत सेप्टेम्बरमा मात्र ताजकिस्तानमा सम्पन्न यु-२३ एसियन कप छनोट प्रतियोगिता खेलेका थिए ।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ र त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।

Yangle News