नेपालको मुख्य भन्सार नाका वीरगञ्जबाट गत आर्थिक वर्ष २०७९\८० मा लक्ष्यको ६० प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
भन्सार विभागका अनुसार यस कार्यालयले वर्षभरका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । यसमध्ये असार मसान्तसम्म १ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र संकलन भएको छ । यसमध्ये आयातमा लाग्ने भन्सार महसुल ५६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.५८ प्रतिशत मात्र हो ।
वीरगञ्जमा मात्र भन्सार महसुल ९७ अर्ब ३४ करोड रुपैयाँ उठ्ने अनुमान सो आर्थिक वर्षमामा गरिएको थियो । मूल्य अभिवृद्धि कर ७० अर्ब रुपैयाँ उठेको छ । यो लक्ष्यको ७१.२१ प्रतिशत मात्र हो ।
नेपालको आयाततर्फ ३६.८२ प्रतिशत व्यापार यस वर्ष वीरगञ्ज भन्सारबाट भएको छ । यो ५ खर्ब ९३ अर्ब ३९ करोड रुपैयाँको हो । निर्याततर्फ ३६ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ । यस वर्ष आयात र निर्यात दुवैमा उच्च दरले कमी आउँदा सरकारले भन्सारबाट संकलन गर्ने राजस्वमा समेत ठूलो गिरावट आएको छ ।