सिमरामा तनाव कायमै, जेनजी समूहलाई वार्ताका लागि आह्वान

Yangle News
Yangle News
२०८२ मंसिर ४ गते
सिमरामा तनाव कायमै, जेनजी समूहलाई वार्ताका लागि आह्वान

बाराको सिमरामा उत्पन्न विवाद सुल्झाउन प्रशासनले जेनजी समूहलाई वार्ताका लागि आह्वान गरेको छ । जेनजी समूहले राजमार्ग बन्द गर्दा अवस्था तनावपूर्ण बनेपछि वार्तामा बोलाइएको हो ।

आज सडक खुलाउन गएका प्रहरीसँग जेनजी समूहको झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा ल्याउन एक राउन्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । जेनजी समूह भने अहिले पनि सडकमा प्रदर्शन गरिरहेका छन् ।

स्थिति थप बिग्रन नदिन र संवादमार्फत समस्या समाधान गर्न भन्दै प्रदर्शनरत जेनजी समूहलाई जिल्ला सुरक्षा समितिले वार्तामा बोलाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो ।

स्थिति तनावग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । तर, बुधबारको तुलनामा सीमित क्षेत्रमा मात्र कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतलाई रोक्न भन्दै जेनजी समूहले विरोध गरेपछि स्थित बिग्रिएको थियो । विरोधका कारण पोखरेल र बस्नेत सिमरा जानै नपाई त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए । तर, एमाले कार्यकर्ताहरू आएर कुटपिट गर्न थालेपछि अवस्था बिग्रिएको बाराका जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज भने शान्तिपूर्ण ढंगले सञ्चालनमा आएको छ । आज बिहानदेखि नै सबै उडान भइरहेको विमानस्थल प्रशासनले जनाएको छ ।