आर्थिक वर्षको पहिलो पाँच महिनामा १७२ नयाँ उद्योग दर्ता

Yangle News
Yangle News
२०८० पुस १९ गते
आर्थिक वर्षको पहिलो पाँच महिनामा १७२ नयाँ उद्योग दर्ता

 

यो आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा नेपालमा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन देखि मंसिरसम्म यी उद्योग दर्ता भएका हुन । यी उद्योगले प्रस्ताव गरेको लगानीको आकार झण्डै १ खर्ब रुपैयाँ हुन आउने विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा विभागमा दर्ता भएका यी उद्योगमध्ये २१ वटा ठूला उद्योग रहेका छन् ।

मझौला उद्योगको संख्या १४ रहेको छ । साना उद्योगको संख्या भने १३७ वटा रहेको विभागले जनाएको छ । १७२ उद्योगले कुल ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले यस वर्ष ८० ठूला, ८५ मझौला र २ सय साना उद्योग दर्ता हुने अनुमान गरेको थियो । यसमध्ये साना उद्योग दर्ता उत्साहजनक पाइएको छ ।

मंसिरसम्म दर्ता भएका उद्योगले १२ हजार ७६७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । मंसिर महिनामा मात्र ३ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी गर्ने गरी उद्योग दर्दा भएका छन् । यस महिनामा कुल ३१ उद्योग दर्ता भएकोमा ठूलो र मझौला आकारका उद्योग एकरएक छन् । अरु साना उद्योग छन् ।

यसैबीच,  पाँच महिनामा विदेशी लगानी प्रतिवद्धता भने २० अर्ब ६० करोड रुपैयाँ बराबरको आएको छ । कुल १ सय ९९ वटा विदेशी लगानीका प्रस्ताव यस अवधिमा स्वीकृत भएको विभागले जनाएको छ ।

मंसिर महिनामा मात्र २ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस महिनामा २१ वटा प्रस्ताव आएको विभागले जनाएको छ ।

विदेशी लगानी प्रतिवद्धताबाट कुल १० हजार १२० जनालाई रोजगारी सिर्जना गर्न सकिने अनुमान गरिएको छ ।