फागु अर्थात् होली पर्व सुरु, हनुमानढोकामा ठड्याइयो चीर

Yangle News
Yangle News
२०७९ फाल्गुन १५ गते
फागु अर्थात् होली पर्व सुरु, हनुमानढोकामा ठड्याइयो चीर

आजदेखि विधिवत रुपमा फागु अर्थात् होली पर्व सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याएर होली पर्व सुरु गरिएको हो ।

गद्दी बैठकको दक्षिणतर्फ फागुन शुक्ल अष्टमीका  दिन चीर ठड्याएसँगै फागु अर्थात् होली पर्वको विधिवत रुपमा शुरुवात भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर  एक–अर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् ।

राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागुपर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याइएसँगै वसन्तपुरमा रङ्गीविरङ्गी रङ्ग खेली मानिसले खुसी मनाएका थिए । फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी उक्त चीर ढालिन्छ । यसका लागि पनि समितिले शुभसाइत निर्धारण गर्दछ। पूर्णिमाकाकै दिन राति चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व समापन भएको मानिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा फागुन २३ गते मङ्गलबार फागु पर्व मनाइँदै छ ।

482 views