श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीमा रहेको सुकुम्वासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।
साम्पाङ नेतृत्वको टोली आज बस्तीमा पुगेर त्यहाँको अहिलेको अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुगेका हुन् ।
निरीक्षणका क्रममा उनले सरकारी कारबाहीबाट प्रभावित भएकाहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गरे । अनधिकृत संरचना भत्काइएपछि त्यहाँका बासिन्दाले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् । निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताए ।
उनले बस्ती भत्काउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा, पहिचान नगरि एक्कासी डोजर लगाउदा वास्तविक पीडित थप समस्यामा परेको धारणा राखे । गरिव जनतालाई विस्थापित गर्ने काम सरकारले गर्न नहुने भन्दै उहाले उनीहरूलाई सहज जीवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले नागरिकको अधिकारलाई ख्याल राख्दै आगामी दिनमा उचित कदम चाल्न सरकारलाई सुझावसमेत दिए ।