प्रतिनिधिसभा सदस्यहरुको सपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा

Yangle News
Yangle News
२०८२ चैत्र १० गते
प्रतिनिधिसभा सदस्यहरुको सपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा

प्रतिनिधिसभा सदस्यहरुको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण पूरा नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरु बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन भइरहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनले बहुउद्देश्यीय हलनजिकै नयाँ भवनमा नै कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुख बस्ने कोठाको पनि व्यवस्थापन गरिएको उल्लेख गरे । प्रवक्ता गिरीले नयाँ संसद भवनको निर्माणको अवस्था हेर्दा सपथपछि संसदको पहिलो अधिवेशनको सबै बैठकहरु बहुउद्देश्यीय हलमा नै हुने देखिएको बताए ।

उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरु देखापर्ने भएकाले छिटो भन्दा छिटो संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ यही चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद सचिवालयले जनाएको छ ।