लगानीयाेग्य रकम थुप्रिएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब झिक्दै

Yangle News
Yangle News
२०८१ भदौ १२ गते
लगानीयाेग्य रकम थुप्रिएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब झिक्दै

याे आर्थिक वर्षको करिब डेढ महिना सकिन लागिसक्दासम्म पनि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढेको छैन । कर्जा माग नबढेकै कारण बैंकहरूमा अधिक तरलता (धेरै लगानीयोग्य रकम)  थुप्रिएको छ ।

प्रणालीमा पैसा थुप्रिएपछि ब्याजदर धेरै नघटोस् भनेरै राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

निक्षेप संकलन खरिदका लागि आज ९बुधबार० दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्ह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।