नेपाल-चीन दुवैतर्फ वर्षा भएको छैन, हिमताल फुटेर बाढी आएको आशंका

Yangle News
Yangle News
२०८२ असार २४ गते
नेपाल-चीन दुवैतर्फ वर्षा भएको छैन, हिमताल फुटेर बाढी आएको आशंका

जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ ।

विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जनाइएको छ । विश्व मौसम संगठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली)को स्याटेलाइट-आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।

विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशंका गरेको छ । विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिन्छ ।

विभागले भोटेकोसी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आँकलनका लागि आज बिहान ७ बजे एसिया-प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष-आधारित आपतकालीन प्रतिक्रिया सेन्टिनल एसिया प्लेटफर्ममा तत्कालको भू-उपग्रह तस्बिर प्राप्त गर्न आपतकालीन अवलोकन अनुरोध जारी गरेको छ । निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै विभागले भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रका आमसर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरुले जानकारी दिएका छन् । आगामी तीन दिनसम्म मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जनाएको छ ।