यो वर्षको मनसुन नेपाल भित्रिएको छ । सरदर मनसुन भित्रिने मितिभन्दा एक दिन ढिला अर्थात आज जुन १४ मा मनसुन भित्रिएको हो । नेपालमा मनसुन भित्रिने समय औसत जुन १३ लाई मानिन्थ्यो ।
आज नेपाल आएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
यद्यपि यो सम्भावना स्थानपिच्छे फरक हुने छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।
अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ ।