उपाधि दावेदार मानिएको दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ ।
कर्नरमा बल प्रहार गर्ने प्रयासमा रहेका लियान्द्रो पाराडेसलाई मेसीले साउदीका डिफेन्डर अब्दुल हमिदसाउदले धकेलेर लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाएको पेनाल्टीमा मेसीले सहजै गोल गर्दै १० औं मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसअघि दोस्रो मिनेटमै मेसीको प्रहारमा गोलकिपर मोहमद अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए ।
पहिलो हाफमा अर्जेन्टिना हावी भयो । तर, दोस्रो हाफमा उस्तै लय काम राख्न सकेन । दोस्रो हाफको पहिलो १५ मिनेटमा साउदीले आक्रामक खेल प्रदर्शन गर्यो । सलेह अलसहरीले नियन्त्रण लिदै अगाडि बढाएर ४८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै साउदीलाई बराबरीमा पुर्याएका थिए । उनले सेकेन्डबार च्याप्दै प्रहार गरेको उक्त गोलमा फिनिसिङ उत्कृष्ट रह्यो ।
सलेम अलडवसरीले ५३ औं मिनेटमा गोल गर्दै साउदीलाई २–१ ले अगाडि बढाएका थिए । उनले डिफेन्सलार्य छक्याउँदै विपक्षीका चार खेलाडीको वीचबाट प्रहार गरेको बलले गोलकिपर एमिलानो मार्टिनेजको ग्लोभ्स छुँदै लोभलाग्दा रुपमा जाली चुमेको थियो ।
६३ औं मिनेटमा अर्जेन्टिनाले खेलमा फर्कने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । निकोलस टाग्लियाफिकोले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक मोहमद अलोवाइसले डाइभ दिँदै बचाए । ७२ औं मिनेटमा डी मारियाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई पनि अलोवाइसले विफल पारे ।
८४ औं मिनेटमा मेस्सीको हेडरमा पुन: एकपटक अलोवाइस बाधक बने । अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन ।
यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।