पोखरा-छेन्दु उडानले पर्यटन क्षेत्रमा उत्साह

Yangle News
Yangle News
२०८१ चैत्र १४ गते
पोखरा-छेन्दु उडानले पर्यटन क्षेत्रमा उत्साह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १ सय २६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मंगलबार फर्किएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका बीटुबी, सेल्समिसन लगायतका प्रवर्द्धनात्मक कार्यक्रमले ठूलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा-छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानका क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तरराष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गरे । ‘उडानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा चिनियाँ प्रतिनिधिमण्डल सक्रियताका साथ लागेको पायौँ’, उनले भने, ‘दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने कुरामा दुवै पक्षबीच महत्त्वपूर्ण छलफल एवं अन्तरक्रिया भएका छन् ।’

चीनको सिचुवान प्रान्तमा मात्रै नौ करोड जनसङ्ख्या रहेकामा छेन्दु र छोङछिङबाट अधिकतम पर्यटकहरू घुम्न निस्कने गरेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएको बिटुबी र सेल्समिसन भव्यताका साथ सम्पन्न भएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले जानकारी दिए । ‘यो कार्यक्रमसँगै चीन केबल काठमाडौँबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ’, उनले भने, ‘काठमाडौँबाहेकका गन्तव्यबाट चीन जोडिएको छ भन्ने सन्देशसँगै पोखरा धेरै चीनका सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको र यहाँबाट सिधै उडान सुरु भएको सन्देश मितेरी सहरहरूमा पुगेको छ ।’

काठमाडौँमा मात्र नभई पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल समेत रहेको जानकारी दिँदै उनले पोखरामा विमानस्थलबाट गरिएको छेन्दुको सीधा उडानले काठमाडौँबाहेकका विमानस्थलको अन्तरराष्ट्रिय बजारमा जानकारी गराएको बताए । उनका अनुसार पहिलो व्यावसायिक उडानका क्रममा बोर्डको आयोजनामा गरिएका छेन्दु र छोङछिङका कार्यक्रम पोखराको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बनेका छन् । बोर्डले यसअघि छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम गरिएको भए पनि छोङछिङमा पहिलोपटक कार्यक्रम गरेको हो । यी दुवै कार्यक्रमको त्यहाँस्थित चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए ।

नेपालमा सन् २०१९ मा एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक आएकामा त्यसपछि कोभिड-१९ का कारण सो सङ्ख्या घटेर सन् २०२० मा १९ हजार २५७ पुगेको थियो । त्यसपछि सन् २०२१ मा छ हजार १९८, सन् २०२२ मा नौ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड १९सँगै आफ्ना नागरिकलाई बाहिरी राष्ट्रमा घुमफिरका लागि रोक लगाएकोमा सन् २०२३ मार्चबाट नेपाल भ्रमण गर्न खुला गरेको थियो । त्यस वर्ष ६० हजार ८७८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख एक हजार ८७९ जना पुगेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिए ।

त्यहाँस्थित चिनियाँ पर्यटन व्यवसायीका अनुसार चीनमा अङ्ग्रेजी महिनाको जुन र जुलाईमा विद्यालय बन्द हुन्छन् । सो समयमा अभिभावक आफ्ना बालबच्चा लिएर भ्रमणमा निस्कन्छन् । उनीहरू छोटो दूरीका रुपमा विशेषत हङकङ वा थाइल्यान्ड जाने गर्दछन् । थाइल्याण्डको दूरीमा रहेको पोखरा उनीहरूका लागि अर्को महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ । आगामी तीन महिनामा करिब एक हजार २ सय ५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्ग हुँदै सीधा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले जनाएको छ ।