नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८ सय ९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो आठ महिनामा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ ।
यस्तै ७६ जिल्लामा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । धादिङ जिल्लामा ३ हजार ३६ सङ्क्रमित भएका छन् भने झापामा २ दुई हजार ७६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, मोरङमा २ हजार २६६ तनहुँमा ५७९ कास्कीमा ९०७, सङखुवासभा ४४७, धनकुटामा ४३२ र कैलालीमा ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । कोशी प्रदेशमा २२ हजार ५४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ४६० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा १ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८९८, मधेस प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा ५०६ र कर्णाली प्रदेशमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।