सांगीतिक समूह नेपथ्यले पोखरामा भव्य कन्सर्ट गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को स्थानीय टिम पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले शुक्रबार कन्सर्ट गरेको हो ।
१० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रंगशालाभित्र निर्धारण गरिएको क्षेत्र भरिभराउ थियो । लोक-रक ब्यान्ड नेपथ्यको गृहनगरमा भेला भएका दर्शक उत्सवकै माहोलमा सुरुदेखि अन्त्यसम्म रमाएका थिए ।
कन्सर्ट हेर्न दर्शक निकै टाढादेखि पनि आएका थिए । तर, अघिल्लो दिन नै टिकट बिक्री भइसकेकाले निराश बनेर बाहिर सडकमा उत्तिकै देखिन्थे ।
निर्धारित समय अर्थात् बेलुका ६ बजे कन्सर्ट सुरु गरिएको थियो । कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले सहरसँग जोडिएका रैथाने अनुभव सुनाए । पोखरेली क्रिकेट टिम र समग्र खेलकुद क्षेत्रकै पक्षमा उनले प्रकट गरेका विचारलाई दर्शकले अत्यन्तै मन पराएको देखिन्थ्यो ।
कन्सर्टको मञ्चमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।