कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्यान्डलाई ३-१ गोलले पराजित गर्दै साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा भएको खेलमा फ्रान्सका लागी ओलिभर जिरुडले ४४ औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।
ओस्मान डेम्बेलेले ७४ औं मिनेटमा दिएको पासमा किलियान एम्बाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पोलिस रक्षापंक्तिमाथि हाबी बनेका एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्सले अग्रता ३-० मा लम्ब्याएको थियो।
पेनाल्टी एरियामा उपामेकानोले बल ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए।
फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्डसँग खेल्ने छ। गय राति भएको खेलमा इङ्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको थियो ।