नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क राजपत्रमा प्रकाशित

Yangle News
Yangle News
२०८२ चैत्र २७ गते
नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क राजपत्रमा प्रकाशित

सरकारले काठमाडौंको मुख्य नाका नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो । मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क निर्धारण गरेको हो ।

गएको साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा हिजो राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका गाडीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । ठूला गाडीहरू बस/ट्रकका लागि लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ ।

अत्यधिक भारवहनवाला गाडीका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको राजपत्रमा उल्लेख छ ।