आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
सोमबार (माघ १२) मतपत्र छपाइको अनुगमनका लागि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारी दिए ।
समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको भण्डारीको भनाइ छ । ‘समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ गर्ने कार्य सम्पन्न गरिसकेका छौं,’ भण्डारीले भने ।
प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य सोमबारदेखि सुरु भएको उनको भनाइ छ । अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने भण्डारीको भनाइ छ ।
‘पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र आजबाट छपाइ सुरु भएको छ । यो छपाइ कार्य १५ दिनभित्र सकिन्छ,’ उनले भने । अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने भण्डारीको भनाइ छ ।