नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन् । एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन् ।
उनले भनिन्,‘यस प्रकारको निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउँछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा प्रभावित तुल्याए पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन ।’
नेतृ भण्डारीले आफूलाई पदको कुनै लालसा नभएको बताइन् । उनले आफू देशकै सर्वोच्च पदमा पुगिसकेकाले अब पार्टीको सदस्य भएर जनताको सेवा गर्ने बताइन् । आफ्नो उद्देश्य सदस्य बनेर पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउनु रहेको उनले बताइन् ।
‘अध्यक्षसँग पछिल्लो भेटमा आफ्नो सदस्यता नवीकरण र सक्रिय राजनीतिका विषयमा छलफल भएको थियो । तर पार्टीको निर्णय जारी गरेको विज्ञप्तिबाट मैले मेरो सदस्यता थाहा पाएँ । मेरो सदस्यता नवीकरण भएकाले विवादित बनाउने विषय नै होइन,’ उनले भनिन्, ‘म राजनीतिक व्यक्ति भएकाले राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेको थिएँ । यसलाई आश्चर्य मान्ने विषय पनि होइन । बरु राजनीति गरेर पार्टीको नेता भएरै नै राष्ट्रपति भएको हुँ ।’
नेतृ भण्डारीले संविधानको विभिन्न धारा कहीँ कतैबाट पनि आफू दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको बताइन् । उनले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तलाई प्रतिकूल हुनेगरी आफूलाई पार्टीको सदस्य बन्न वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताइन् ।
प्रेस विज्ञप्ति :