फागु पूर्णिमाका दिन साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । पछिल्लो समय होली खेल्दा जताभावी रङ प्रयोग गर्ने गरेको पाइन्छ । होलीमा प्रयोग हुने अधिकांश रङ रसायनयुक्त हुने हुँदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।
रसायनयुक्त रङले शरीरमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ । रसायनयुक्त रङले विशेषगरी छाला, कपाल, आँखा, श्वासप्रश्वास फोक्सो, मिर्गौला लगायतका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउने चिकित्सकहरुको भनाइ छ ।
कुन-कुन रसायन मिसाइन्छ ?
होलीमा प्रयोग हुने रातो, कालो, हरियो, निलो, गुलाबी, बैजनी, ग्लिटरयुक्त रङ, सेतो रङमा बढी रसायन मिसाइएको हुन्छ । चिकित्सकहरुका अनुसार जति गाडा रङ त्यति नै हानिकारक हुने गर्छ । रातो रङमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, निलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । त्यस्तै टल्कने रङ अर्थात् ग्लिटरमा कतिपयमा सिसा लिड र टल्कने सिलिकाको प्रयोग गरेको पाइएको छ ।
कस्तो असर गर्छ ?
रङमा मिसाइएका रसायनिक तत्त्वले छाला, आँखा, कान, फोक्सो, मिर्गौला लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउँछ । होलीमा प्रयोग हुने रङले सामान्य एलर्जी हुनेदेखि छाला चिलाउने, पोल्ने, फोका आउने, दुख्ने, घाउ आउने, सेतो दुवी बढ्ने, कपाल टुक्रनेजस्ता समस्या निम्त्याउने गर्दछ । आँखामा रङ पसेमा आँखा चिलाउने, रातो हुने, पानी बग्नेजस्ता तत्कालीन समस्या देखिन्छ । त्यस्तै रङ कानमा पसेमा कान चिलाउने र पछि गएर कान पाक्नेसमेत हुनसक्छ । रसायनयुक्त रङले छालाको क्यान्सर, नसासम्बन्धी समस्या, कलेजो फोक्सो, मिर्गौलामा दीर्घकालीन असर निम्त्याने जोखिम रहन्छ ।
कस्तो रङ प्रयोग गर्ने ?
होलीमा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नु उचित हुन्छ । सयपत्री फूल पिसेर बनाइएको रङ, मेहन्दीको रङ, बेसार पनि होलीमा रङका रूपमा प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
पाउडर रङ किनेर पानीमा राम्रोसँग घुलियो भने केमिकल कम मिसाएको भन्ने मानिन्छ । रङ राम्रोसँग घोलिएन भने केमिकल मिसाएको हुन्छ । यसर्थ पाउडर रङ जाँच गरेर प्रयोग गर्न सकिन्छ । झोल रङ निकै हानिकार हुने भएकाले यसको प्रयोग नगर्नु नै उत्तम हुन्छ । धेरै चम्किलो रङ, मट्टीतेल, मोबिलको गन्ध आउने रङ प्रयोग सकेसम्म गर्नु हुँदैन ।
ध्यान दिनुपर्ने कुरा
होलीको रङले बढी असर पार्ने टाउको, मुख, शरीरको अन्य भागमा विशेष ध्यान दिन जरुरी हुन्छ । सकेसम्म आँखा, कान तथा मुखमा रङ लाग्नबाट जोगाउनुपर्छ । होली खेल्नुभन्दा अगाडि टाउकोमा तेल लगाउने, अनुहारमा धेरै म्वाइस्चराइजर, सन बल्क क्रिम लगाउन चिकित्सकको सुझाव छ । छालामा एलर्जी भए होलीमा रङ खेल्नु हुन्न ।