मुढे शनिश्चरे- सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले घर-घर पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा जुट्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
धर्मदेवी नगरपालिकाको केन्द्र मुढे शनिश्चरेमा आयोजित भेटघाट कार्यक्रममा कांग्रेस संखुवासभाका सभापति खड्काले यसपटक गठबन्धन पराजित भएका जिल्ला विकासमा पछाडि पर्ने सम्झाए। ०७४ सालमा निर्वाचित भएका एमाले सांसदको गलत रवैयाका कारण संखुवासभा विकास निर्माणमा धेरै पछाडि परेको मतदातालाई बुझाउन आवश्यक रहेको उनले बताए।
‘हामीले शुरु गरेको रिङरोडको बजेट काटिदिए, अस्पताललाई १५ बाट ५ बेडमा झारिदिए। हामीले शुरु गरेका विभिन्न सडकको बजेट कटाइदिए। पाँच वर्षमा जिल्ला धेरै पछाडि पर्यो,’ उनले भने, ‘महामारीका बेला ०७४ सालमा निर्वाचित सांसदहरु कहाँ थिए। जिल्लाका दु:ख बेला उनीहरु कता थिए ?’

आफू धर्मदेवी नगरपालिकाको बासिन्दा भएकाले नगरवासीबाट ठूलो अपेक्षा रहेको खड्काको आग्रह थियो। धर्मदेवीबाट ९० प्रतिशतभन्दा बढी मत खस्नेमा आफू ढुक्क रहेको उल्लेख गरे। खड्काले जिल्लाभर खानेपानीका प्रशस्त परियोजना अगाडि बढाएकामा ५ वर्षमा आफू सांसद नहुँदा ती परियोजना निर्माण हुन नसकेको उल्लेख गरे। शिक्षाको स्तर उकास्न शुरु गरिएका परियोजना पनि आफू सांसद नहुँदा अगाडि बढ्न नसकेको सम्झाए।
आफूसहित गठबन्धनबाट प्रदेशको उम्मेदवार सरिता खड्कालाई पनि अत्यधिक बहुमतले विजयी गराउन उनले आग्रह गरे। ‘गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन सकेनौं भने जिल्ला विकासमा फेरि पनि पछाडि पर्नेछ। हाम्रा प्रदेश सांसदले जित्नुभएन भने प्रदेशमा गठन हुने सरकारमा संखुवासभाका कसलाई मन्त्री बनाउने ?’ उनले भने, ‘प्रदेश सरकारमा पनि हाम्रा मन्त्री भएनन् भने जिल्लाको विकासमा बजेट कसरी ल्याउने ? अनि जिल्लाको विकास कसरी हुन्छ?
‘कांग्रेसका नेता, कार्यकर्ता र समर्थकले प्रदेशतर्फ सूर्यमा भोट हाल्छन् भन्ने आफूलाई पटक्कै विश्वास नभएको उनले सम्झाए। एमालेले कांग्रेस समर्थकले गठबन्धनका उम्मेदवारलाई भोट नदिने भ्रम फैलाइरहेको र त्यसलाई चिरेर अगाडि बढ्न खड्काले निर्देशन दिए। ‘म आफैं उम्मेदवार भएको सम्झेर घर-घर पुग्नूस्, गुन्द्री बैठकहरु आयोजना गर्नूस्। टोल-टोलमा समितिहरु गठन गरेर चुनावी अभियानमा जुट्नूस्,’ उनको निर्देशन थियो।