महिला विश्वकप-२०२७ : यी ८ रंगशालामा हुनेछ ३२ राष्ट्रबीच प्रतिस्पर्धा

Yangle News
Yangle News
२०८२ बैशाख २५ गते
महिला विश्वकप-२०२७ : यी ८ रंगशालामा हुनेछ ३२ राष्ट्रबीच प्रतिस्पर्धा

ब्राजिलमा हुने सन् २०२७ को महिला विश्वकप फुटबलका लागि आठवटा सहरलाई आयोजकको रूपमा छनोट गरिएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बुधबार यी आयोजक सहरको नाम सार्वजनिक गरेको हो । सन् २०१४ मा पुरुष विश्वकपका लागि प्रयोग गरिएका १२ स्टेडियममध्ये आठवटालाई पुनः महिला विश्वकपका लागि प्रयोग गरिने भएको छ । ब्राजिलले पहिलोपटक महिला विश्वकप आयोजना गर्न लागिरहेको हो ।

महिला विश्वकपका खेलहरु रियो दि जिनेरोस्थित म्याराकाना स्टेडियम, साओ पाउलोस्थित नियोक्विमिका एरेना, बेलो होरिजोन्तेमा रहेको मिनेराओ स्टेडियम, ब्रासिलियामा रहेको नासियोनल स्टेडियम, फोर्टालेजाको एरेना कास्टेलाओ, पोर्टो एलेग्रेको बेइरा रियो स्टेडियम, रेसिफेस्थित एरेना पेर्नाम्बुको र साल्भाडोरमा रहेको एरेना फोन्ते नोभाम खेलाइने तय भएको छ । उद्घाटन खेल नियोक्विमिका एरेना र फाइनल म्याराकाना स्टेडियममा हुने सम्भावना रहेको जनाइको छ ।

सन् २०१४ को पुरुष विश्वकपको फाइनल खेल पनि ७८ हजार क्षमताको म्याराकान स्टेडियममै भएको थियो । आयोजक सहर छनोट प्रक्रिया सन् २०२३ को अगस्टबाट सुरु गरिएको थियो । सन् २०१४ को पुरुष विश्वकपमा प्रयोग गरिएका अन्य तीन सहरहरु बेलेम, कुरिचिबा, मेनाउस र नातालमा रहेका स्टेडियमहरुमा यसपटकको महिला विश्वकपका खेल आयोजना हुने छैन ।

प्रतियोगिता २०२७ जुन २४ देखि जुलाई २५ सम्म सञ्चालन हुनेछ । ३२ राष्ट्रको सहभागिता रहने प्रतियोगिताका अधिकांश खेल तटीय सहरहरूमा हुनेछन् । पुरुषतर्फ सर्वाधिक पाँचपटक विश्वकप जितिसकेको ब्राजिलले महिलातर्फ भने अझै उपाधि जित्न सकेको छैन । यसअघिको संस्करण सन् २०२३ मा अष्ट्रेलिया र न्यूजील्याण्डमा भएको थियो । यसपछि २०३१ मा अमेरिकाले तथा २०३५ मा इंग्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र वेल्सले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने तय भइसकेको छ ।

हाल ब्राजिल फिफाको महिला वरियतामा केही स्थान खस्कँदै आठौं स्थानमा छ । अमेरिका, स्पेन, जर्मनी, इंग्ल्याण्ड र जापान क्रमशः पहिलोदेखि पाँचौ स्थानमा रहेका छन् । स्वीडेन ६ र क्यानडा ७ स्थानमा रहेका छन् ।