सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन, खोइ कुरा बुझेको ?

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन, खोइ कुरा बुझेको ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई आग्रह गरेका छन् ।

जेनजीका अनेक समूहले हरेक दिन प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबारमा हुलदंगा गरिरहेका बेला मन्त्री पुनले भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आमचुनावमा धेरैभन्दा धेरै युवा नेतालाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु भएको स्मरण गराएका छन् ।

बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएको भन्दै जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेको उनको भनाइ छ । ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आमचुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो,’ फेसबुकमा उनले लेखेका छन्, ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन् । अनि देश कसरी बन्छ ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो ।’

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै जेनजी समूह हरेक दिनजसो सिंहदरबार गेटमा पुग्ने गरेका छन् । भेट्न समय नपाएपछि उनीहरूले सिंहदरबार गेटमै हुलदंगा गर्ने गरेका छन् । केही समूहले गेटमै आफ्ना मागपत्र टाँसेका छन् ।