देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेकपा माओवादी माओवादी-एकीकृत समाजवादी एकतामा आवद्ध भएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र किरातीबीच औपचारिक रूपमा एकता पत्रमा हस्ताक्षर गरिएको छ ।
एकता पत्रमा हाल नेपाली राजनीतिमा देखा परेको अभूतपूर्व जोखिमका बीच परिस्थितिलाई सही दिशातर्फ लैजान क्रान्तिकारी शक्तिहरू एक ठाउँमा आउनु अपरिहार्य भएको उल्लेख छ । एकता पत्रमा भनिएको छ, ‘जनयुद्धका बेला अपनाइएको हरेक प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्ने नीतिअनुसार देशका क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण आजको मुख्य कर्तव्य हो ।’
दुवै पक्षले १० वर्षे सशस्त्र जनयुद्धको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली समाजको प्रकृतिअनुसार अग्रगामी विकास कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
विगतमा भएका वैचारिक, राजनीतिक तथा सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने र त्यसको दस्तावेजीकरण गर्ने सहमति पनि भएको छ । उक्त समीक्षाको मार्गदर्शनमा जनस्तरबाटै एकता, संघर्ष र रूपान्तरणको प्रक्रिया अघि बढाइने उल्लेख छ ।
गोपाल किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीभित्र गम्भीर छलफल गरी ‘पूर्ण जनवाद’ का आधारमा निर्णय लिइने उल्लेख एकता पत्रमा गरिएको छ ।
सहमति अनुसार, देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू अब माओवादी केन्द्रभित्र ध्रुवीकृत हुनेछन् ।
स्वदेश र विदेशमा रहेका मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, विस्थापित वर्ग, लिंग, जातजाति, क्षेत्र र देशभक्त शक्तिहरूबीच समाजवादी ध्रुवीकरणलाई सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र सम्प्रभूताको सुदृढीकरणतर्फ अघि बढाइने उल्लेख छ ।