प्रधानमन्त्रीको खोजीले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध

Yangle News
Yangle News
२०८३ जेष्ठ ७ गते
प्रधानमन्त्रीको खोजीले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध

प्रतिनिधिसभा नियमावली अनुसार संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन् । नियमावलीमा रहेको प्रश्नोत्तर कार्यक्रमअनुसार प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गर्दै विपक्षी दलले विरोध गरिरहेका हुन् ।

बिहीबार पनि प्रतिनिधिसभामा आकस्मिक, शून्य र विशेष समयपछि बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला नेकपा एमाले, नेकपा र श्रम संस्कृति लगायतका विपक्षी दलका सांसद उठेर विरोध जनाए । सरकारका नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा पनि प्रधानमन्त्री बालेन नआएको भन्दै विपक्षी दलले विरोध जनाएका थिए ।

सभामुखसँग समय लिएर एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था भए पनि सो समय नतोकिएको भन्दै विरोध जनाएका हुन् । प्रधानमन्त्रीलाई झन् स्वेच्छाचारी बन्ने अवस्था सिर्जना भएको भन्दै उनले प्रधानमन्त्री सदनमा नआएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए । श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनलाई छल्दा लोकतन्त्रमाथि नै खतरा हुन थालेको हो कि भनेर चिन्ता लागेको बताए ।

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांसदको नाम मागे । तर, कसैले टिपाएनन् । त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ पेस गरे । विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । विपक्षी सांसदले भने संसदीय मर्यादा कायम गरियोस् भन्दै संसद्को वेलमा नारावाजी गरेका थिए ।