भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप्रति सर्वत्र भर्त्सना

Yangle News
Yangle News
२०८२ पुस २४ गते
भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप्रति सर्वत्र भर्त्सना

भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको सर्वत्र भर्त्सना भइरहेको छ । चीनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा अमेरिकी कदमको निन्दा गरेको छ ।

चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि चीनको स्थायी नियोगका कार्यवाहक प्रमुख सुन लेईले चीन संयुक्त राज्य अमेरिकाको एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण कार्यहरूबाट गहिरो रूपमा स्तब्ध भएको बताए । चीनले सधैं अन्तर्राष्ट्रिय कानून र सम्बन्धित देशको सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिँदै आएको उनको भनाइ छ ।

उता, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्दै वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ता विरुद्धको कार्य भनी भत्र्सना गरेका छन् । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बाघेईले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको बताए । उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघनको विरुद्धमा प्रतिक्रिया जनाउन आग्रह गर्दै यस्ता व्यवहारहरू नरोकिने चेतावनीसमेत दिए ।

यसैबीच, अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा विश्वका विभिन्न स्थानमा प्रदर्शन हुने क्रम जारी छ । राजधानी ब्युनस आयर्सस्थित अमेरिकी दूतावासबाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका हुन् ।

त्यस्तै, भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन शुरु भएको छ । सिड्नी, मेलबर्न र क्यानबेराजस्ता प्रमुख शहरहरूमा भेला भएका हजारौं प्रदर्शनकारीले अमेरिकी सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् ।

प्रदर्शनकारीहरूले भेनेजुएलाबाट हात झिक र युद्ध रोकेर शान्ति कायम गर जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए । अधिकारकर्मीहरूले यो आक्रमणले दक्षिण अमेरिकी क्षेत्रमा थप अस्थिरता र मानवीय संकट पैदा गर्ने चेतावनी दिएका छन् । अस्ट्रेलियाली सरकारलाई पनि अमेरिकी सैन्य गतिविधिलाई समर्थन नगर्न र कुटनीतिक समाधानका लागि पहल गर्न प्रदर्शनकारीहरूले दबाब दिएका छन् ।