१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध

Yangle News
Yangle News
२०८२ जेष्ठ २२ गते
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमा आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ ।

ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्‍याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्‍याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताएकी छन् ।

यो घोषणाले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ । त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए ।