मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु

Yangle News
Yangle News
२०८० असार २६ गते
मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
फाइल फोटो

 

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । आज बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको र सबै शव संकलन भइसकेको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएका छन् ।

उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए । उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका- ५ मै अवतरण गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए ।

हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

357 views