राष्ट्रिय फूटबल टोली घोषणा, ३ नयाँ खेलाडी समेटिए

Yangle News
Yangle News
२०८१ चैत्र ४ गते
राष्ट्रिय फूटबल टोली घोषणा, ३ नयाँ खेलाडी समेटिए

तीन नयाँ खेलाडीलाई पहिलोपल्ट समेट्दै सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ । रसले यसअघि २७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका थिए । तीमध्ये फरवार्ड सुवास ठकुरी बम, डिफेन्डर सुमन श्रेष्ठ र एञ्जल श्रेष्ठले पहिलोपल्ट टोलीमा स्थान बनाएका हुन् ।

यी दुईले स्थान बनाउँदा गोलकिपर विशाल सुनार, डिफेन्डर आशिष गुरुङ तथा फरवार्डद्वय नीराजन धामी र सृजनराज गौतम फ्याँकिएका हुन् । दोस्रो चरणको प्रशिक्षणमा फरवार्ड रेजिन सुब्वा तथा सृर्जनराज गौतम र डिफेन्डर सुमन श्रेष्ठ स्ट्यान्डबाइ सूचीबाट समेटिएका थिए ।

नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीसँग एक वर्षको सम्झौता गरेको छ । उक्त खेललगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ ।

पूर्वनिर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो । तर, मैदान र सुरक्षाका कारण देखाउँदै खेलस्थान मलेसिया सारिएको हो ।

प्रारम्भिक टोली :

गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, एञ्जल श्रेष्ठ ।

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमन श्रेष्ठ ।

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुश घलान, कृतिशरत्न छिन्जु ।

फरवार्डः जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, दिनेश हेन्जन, सुवास ठकुरी बम, रेजिन सुब्बा ।