धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’

Yangle News
Yangle News
२०८२ फाल्गुन ६ गते
धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ नाममा चुनावी सभा आयोजना गरेको छ ।

सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले सम्बोधन गरेका थिए । सभामा बोल्दै रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले आफू भोटभन्दा पनि काम माग्न सुदुरपश्चिम आएको बताए । उनले भने, ‘म यहाँ बोल्न आएको होइन, काम माग्न आएको हो,’ उनले भने, ‘भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनू । रास्वपाले काम गरेर देखाउँछ ।‘

उनले सुदूरपश्चिम अब ‘नजिक पश्चिम’ हुनुपर्ने पनि बताए । ‘आँखा हेर्न पर्दैन । म धेरै बोल्दिनँ । धेरै धेरै माया तम्लाई ! आई लभ यू,’ कार्यकर्ता तथा समर्थकतिर हेर्दै उनले भने ।

उनले सुदूरपश्चिमले भनेका काम पूरा गर्ने पार्टी रास्वपा भएको उल्लेख गर्दै उनले भने, “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्‍यो । उपचार पाउनुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउँछौं ।‘

यस्तै पार्टी सभापति रवि लामिछानेले आफूहरू खुद्रामा कुरा गर्न नभएर एकैपटक सबै बदल्न आएको जिकिर गरे । सिंहदरबार बनाउनेभन्दा पनि बदल्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौं । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौं ।’

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे । यसअघि सधैंको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए ।

Yangle News