प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन गएका हुन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शुक्रबार प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको टुंगो लागेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदीसँग पनि द्विपक्षीय वार्ताको लागि समय मिलाउने प्रयास भइरहेको छ । प्रधामन्त्री ओलीलाई चीन भ्रमणका बेला लिपुलेक मुद्दा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसमक्ष उठाउन सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले अनुरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ १८ गते चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् ।
सांघाई सहयोग संगठन जुन १५, २००१ मा सांघाईमा काजाकिस्तान, चीन, किर्गिज, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो । अहिले सांघाई सहयोग संगठनमा भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताकिकिस्तान र उब्बेकिस्तान गरी नौ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् ।
संगठनमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ रहेका छन् ।
चीन भ्रमण दलमा श्रीमती राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहित २३ जना सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।