थाइल्याण्डद्वारा कम्बोडियाली सैनिक अड्डामा हवाइ हमला

Yangle News
Yangle News
२०८२ साउन ८ गते
थाइल्याण्डद्वारा कम्बोडियाली सैनिक अड्डामा हवाइ हमला

विवादित सीमा क्षेत्रमा दुई देशका सेनाहरूबीच आज बिहान गोली हानाहान भएपछि थाइल्याण्डले लडाकु विमानबाट कम्बोडियाली सैनिक अड्डाहरुमा बम खसालेको हो । कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको थाइ सेनाले जनाएको छ ।

योजनाअनुसार नै सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेको थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डले कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।

कम्बोडियाले थाई गाउँमा गरेको तोप र रकेट प्रहारबाट कम्तीमा ९ जनाको मृत्यु भएको बताइएको छ । सुरिन प्रान्तको काब चोएङ जिल्लाका प्रमुखले ८६ गाउँका ४० हजार मानिसलाई सुरक्षित स्थलमा सारिएको बताएका छन् । कम्बोडियातर्फ भएको हताहतीबारे भने कुनै जानकारी आएको छैन ।

विवादित सीमामा हतियारधारी कम्बोडियन सैनिकहरूले गोली प्रहार गरेको दाबी थाई सेनाले गरेको छ । तर कम्बोडियनहरूले भने थाईहरूले पहिले हतियार चलाएपछि प्रतिरक्षा गर्न बाध्य भएको बताएका छन् । थाइल्याण्डले कम्बोडियन राजदूतलाई निष्कासन गर्ने र राजधानी नोमपेन्हबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरिसकेको छ । कम्बोडियाले समेत बैंककबाट आफ्ना सबै कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउनुको साथै थाई फिल्म र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ । साथै, थाई फलफूल र तरकारी, इन्धन र इन्टरनेट सेवाहरूको आयात पनि रोकिदिएको छ ।

Yangle News
द्वन्द्वरत क्षेत्रतर्फ प्रस्थान गर्दै कम्बोडियाली सैनिक टोली ।

कम्बोडियाका शक्तिशाली नेता हुन सेनले विवादित सीमाको बारेमा तत्कालीन थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्रासँग गरेको फोन वार्ता सार्वजनिक भएपछि वाकयुद्ध बढ्दै गएको थियो । दुवै देशले हालैका हप्ताहरूमा सीमामा सेनाको उपस्थिति पनि बलियो बनाएका छन् ।

घटनाप्रति विभिन्न मुलुकले चिन्ता व्यक्त गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले संवादको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।