फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर स्थिर

Yangle News
Yangle News
२०८२ माघ २९ गते
फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर स्थिर

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचनाअनुसार बैंकहरुको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ ।

माघ महिनामा ४.६८ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, फागुन महिनामा ०.११ प्रतिशतविन्दु घटेर ४.५६ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत दर समीक्षा अवधिमा ०.०५ प्रतिशतविन्दु घटेको छ ।

यस महिना ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ । माघमा ५.५० प्रतिशत रहेको ब्याजदर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ, जुन ०.७५ प्रतिशत बिन्दुको कमी हो । संस्थागत निक्षेपमा पनि यस बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

एनआईएमबि बैंकले पनि व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा ०.३० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.१५ प्रतिशत बिन्दुले कटौती गरेका छन् । सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने नेपाल एसबीआई बैंकले संस्थागत निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले सामान्य कटौती गरेको छ ।

तर, धेरै वाणिज्य बैंकहरूले भने फागुन महिनामा आफ्नो ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

फागुन महिनामा व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ब्याजदर ४.२५ प्रतिशत रहेको छ । यो ब्याजदर कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले प्रदान गरेका छन् । व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर भने नेपाल बैंकले ५.१० प्रतिशत प्रदान गर्ने भएको छ ।