प्रधानमन्त्री दाहाल भारत भ्रमणका लागि प्रस्थान

Yangle News
Yangle News
२०८० जेष्ठ १७ गते
प्रधानमन्त्री दाहाल भारत भ्रमणका लागि प्रस्थान

 

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । आज अपराह्न प्रधानमन्त्री दाहाल सहितको टोलि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको हो  ।

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । उनीसँगै भ्रमणमा सरकारी अधिकारी ४७ जना , निजी उद्योग व्यवसाय क्षेत्रका ४१ जना, मिडियाका प्रतिनिधि , ५ मन्त्री,  डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दै छन् । दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको समेत वार्ताको तयारी छ । लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्र स्रोतको भनाइ छ ।

भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरेका थिए । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका हुन ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । भ्रमणटोलि २० गते शनिवार स्वदेश फर्कने कार्यसूची छ ।

 

 

 

303 views