अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले सरोकारवाला निकायसँग सुरक्षित कार्यस्थलको सुनिश्चितताको माग गरेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले केन्द्र तथा स्थानीय सरकार, सरोकारवाला निकाय एंव रोजगारदातासँग काम गर्ने स्थानमा न्यूनतम सुरक्षा सामग्रीसहितको सुरक्षित कार्यस्थलको सुनिश्चितता माग गरेका हुन् । यही मंसिर २५ गते काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनले ‘अनौपचारिक श्रमिकहरुको अधिकार र न्याय सुनिश्चितताका लागि काठमाडौं माग पत्र-२०८२’ जारी गरेको छ । जसमा विभिन्न ७ बुँदे माग समेटिएको छ ।
सम्मेलनले निकालेको निष्कर्षबारे जानकारी दिन मंसिर २६ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा महिला श्रमिकहरुले काम गर्ने स्थानमा यौन दुर्व्यवहार र शोषणमा परेको अनुभव साझा गरेका थिए । यसको लागि महिला श्रमिकहरुले काम गर्ने ठाउँमा आवश्यक स्तनपान कक्ष, सफा खानेकुरा, शौचालय, शिशु स्याहार केन्द्रको व्यवस्था गरी सम्मानपूर्वक कार्यस्थलको माग गरेका छन् ।
‘हामी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई स्थानीय तहमा सूचीकृत गर्ने व्यवस्था संघीय श्रम ऐनमा गरि ऐनअनुसारको न्यूनतम र न्यायपूर्ण ज्याला सुनिश्चित गर्न माग गर्दछौं,’ माग पत्रमा भनिएको छ, ‘कामको सिलसिलामा घाइते हुँदा धेरै दिन काम गुमाउन बाध्य छौं र हामीलाई बीमाको सुविधा प्राप्त छैन । हाम्रो लागि दुर्घटना तथा स्वास्थ्य बिमाको सुनिश्चितताको माग गर्दछौं ।’
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुले भोगिरहेका शोषण तथा अन्यायको अनुगमन गर्न स्थानीय सरकारले नियमित अनुगमन गर्न र यसलाई ऐनमा व्यवस्था गर्न माग गरेका छन् । साथै आगामी निर्वाचनमा सबै राजनीतिक दलले अनौपचारिक श्रमिकका अधिकार र न्यायको सुनिश्चितता गर्न घोषणा पत्रमा उल्लेख राख्न अपिल समेत गरेका छन् ।
महिला श्रमिक मध्येकी चिरन बुढाले महिला र पुरुषले समान काममा असमान ज्याला पाउने गरेको समस्या राखेकी थिइन् । ‘हामीले घर बनाउने काम गर्दा हामीलाई बुट, हेल्मेट, पञ्जा जस्तो सुरक्षाको सामान पनि पाउँदैनौं,’ चितवनबाट काठमाडौं आएकी चिरन भन्छिन्, ‘यति मात्र होइन फोहोर उठाउने काममा पनि हामीले आफ्नो ज्यानको जोखिम मोलेका हुन्छौं । तर पनि हामी बिरामी हुँदा औषधी गरिदिने कसले ? यसको ग्यारेन्टी पनि छैन ।’
सम्मेलनमा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत देशभरका १३ जिल्लाबाट महिला श्रमिकहरु काठमाडौं भेला भएका थिए ।