फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुकले मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् । यसअघि लाइभ गरिएका भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ ।
फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।
फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ ।
प्रयोगकर्ताहरूलाई आफ्ना पुराना लाइभ भिडियोहरू सुरक्षित राख्न मद्दत गर्न फेसबुकले नयाँ डाउनलोड उपकरणहरू पनि सार्वजनिक गरिरहेको छ । प्रयोगकर्ताहरूले आफ्नो पुराना लाइभ भिडियोहरू एकै पटकमा डाउनलोड गर्न ‘डाउनलोड लाइभ भिडियोज’ विकल्प चयन गर्न सक्नेछन्, जुन उनीहरूले पाउने सूचनामा उपलब्ध हुनेछ ।
त्यस्तै, ‘ट्रान्सफर लाइभ भिडियोज’ विकल्प चयन गरी आफ्नो क्लाउड स्टोरेज प्रदायक, जस्तै ड्रपबक्स, गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा स्टोर गर्न सक्नेछन् ।