पाँच वर्षपछि रेसुङ्गा विमानस्थलमा परीक्षण उडान, चाँडै नियमित उडान गरिँदै

Yangle News
Yangle News
२०८० बैशाख १५ गते
पाँच वर्षपछि रेसुङ्गा विमानस्थलमा परीक्षण उडान, चाँडै नियमित उडान गरिँदै

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा ७ बजेर ३९ मिनेटमा  अवतरण गरेको हो ।

रेसुङ्गा नगरपालिकासँग सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको  विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल  ३३ करोड रुपैयाँ लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेलले बताएका छन् ।

नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि एक साताभित्र नियमित उडान हुने निगमका क्याप्टेन मनिष विष्टले जानकारी दिएका छन् । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।