राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए । उनका अनुसार पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको हो । त्यस्तै बैठकले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
रास्वपाले विभिन्न विभागका रिक्त पदमा नेताहरूलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नीति विचार विभाग प्रमुखमा संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरेलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै सदस्यमा सांसद सुशान्त वैदिकलाई मनोनयन गर्ने निर्णय भएको छ ।
केन्द्रीय प्रशिक्षण विभागमा ६ जना सदस्य मनोनित गरिएको छ । जसमा मधु अर्याल, सृष्टि भट्टराई, नवीन श्रेष्ठ, जयदुर्गा बुढाथोकी, नरेश तिमिल्सिना र सुजनकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा कमल खनाल, तोरण विक र उदय सापकोटालाई पार्टीले मनोनित गरेको छ ।
प्रवास नेपाली सम्पर्क विभागको प्रमुखमा पार्टी सचिवालय सदस्य दीपकराज बोहरा मनोनीत भएका छन् । उक्त विभागमा यसअघि पार्टी उपसभापति डीपी अर्याल रहेका थिए । उनी सभामुख भएपछि उक्त पद रिक्त रहेको थियो ।
यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ । उक्त बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ ।